प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा हेरफेर र नयाँ मन्त्री थप्ने तयारीमा
प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा हेरफेर र नयाँ मन्त्री थप्ने तयारीमा लागेका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई पनि साथमा लिएर चुनावमा जाने भएका छन् ।
महन्थ समूहसँग चुनावी गठबन्धन सम्म बनाउने गरी सरकार निर्माण हुनलागेको बुझिएको छ । मन्त्रिमण्डलमा महन्थ ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ । महतोले गृह मन्त्रालयको दाबी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
पूर्वमाओवादी ७ मन्त्रीहरु सर्वोच्च अदालतको ६ जेठको आदेशबाट पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले लिएका छन् । ती मन्त्रालयहरुमा जसपाको महन्थ ठाकुर पक्षधरलाई व्यवस्थापन गर्ने तयारी ओलीले गरेका छन्
मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन् । उनीहरुले महन्थ पक्षमा रहेर ओलीलाई साथ दिएका थिए ।
जसपाले कम्तिमा १० मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । उसको माग सम्बोधन गर्न ओली तयार भएपछि हिजो नाटकीय रुपमा बहुमतको सरकार गठनका लागि समर्थनको प्रस्तावमा ठाकुर र महतोले समेत हस्ताक्षर गरेका थिए ।
यसैगरी, पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, गौरीशंकर चौधरी, प्रभु साह र दावा लामामध्येबाट केहीलाई नयाँ मन्त्रिमण्डलमा थप्ने ओलीको तयारी छ । बादलले गृहमन्त्रीकै जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ । तर, ओलीले आफ्ना विश्वासपात्र कसैलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।
एमालेका कतिपय मन्त्रीहरु बिदा हुने सम्भावना छ । इश्वर पोखरेलले गृह मन्त्रीको चाहना राखेको बुझिएको छ । महेश बस्नेत र गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि अवसर पाउने सम्भावना रहेको छ ।-Reporters Nepal