नविल बैंकले पनि मर्जरमा जानका लागि उपयुक्त जोडी खोज्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले असार १२ गते बैंकका अध्यक्ष तथा संचालकलाई मौद्रिक नीति अगाडि नै प्रतिबद्धता बुझाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार २२ बैंकले मर्जरको प्रतिबद्धता बुझाएका थिए । नविल बैंक प्रतिवद्धता नबुझाउने मध्येमा थियो ।
प्रतिवद्धता गरेर पनि मर्जरको थप प्रक्रिया अघि बढाउन बैंकहरु अघि नसरेपछि दुई साताअघि राष्ट्र बैंकले २८ वटा वाणिज्य बैंकलाई पत्र लेखेर मर्जरको विषयमा भएको प्रगतिको बारेमा १० दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । यसैबीच नेपाल राष्ट्र बैंकलाई पत्र पठाउँदै नविल बैंकले मर्जरमा जानका लागि उपयुक्त जोडी खोजिरहेको जानकारी दिएको छ । मर्जर र यसको विकल्पका बारेमा छलफल भएको र संचालक समितिबाट आवश्यक निर्णय गरेर अघि बढ्ने बैंकले जनाएको छ ।